बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

हरेली संक्रान्ति

images
images
http://rubasnews.com/posts/48

रुबस न्यूज
सोमबार, असोज ४ २०७८०५:१९
http://rubasnews.com/posts/48

images
images
हरेली संक्रान्ति
images
images

नेपाल पर्वै पर्वहरुको देश हो । त्यसमा पनि देवभूमी सुदूरपश्चिम प्रदेश विभिन्न धार्मिक ,सांस्कृतिक तथा मौलिक परम्परागत लोक पर्व एवम् सम्पदाहरुले भरिपूर्ण प्रदेश हो। तसर्थ यो प्रदेशलाई लोक पर्व तथा लोक सम्पदाहरुको प्रदेशका रुपमा चित्रण गर्न सकिन्छ ।
हाम्रो देश नेपालमा महिनैपिच्छे कुनै न कुनै चाडपर्व परिरहने र धेरैजसो चाडपर्वहरु कृषि प्रधान देश भएकाले कृषिसंग सम्बन्धित रहेका पाइन्छन् । कृषि प्रधान देशको कृषिसँग सम्बन्धित एक मौलिक पर्वको रुपमा साउने संक्रान्ति,कर्कट संक्रान्ति,हरेली संक्रान्तिआदि नामले चिनिने हरेलो पर्व अथवा लुतो फाल्ने पर्वलाई पनि लिन सकिन्छ ।हरेलो पर्व अथवा हरेली संक्रातका नामले परिचित साउन १ गतेदेखि शास्त्रानुसार सूर्य कर्कट राशीमा प्रवेश गर्ने मान्यता रहेकाले यो संक्रान्तीलाई कर्कट संक्रान्ती पनि भनिएको मान्यता रहेको पाइन्छ ।
हरियाली शब्दसंग जोडिएको हरेलो किसानहरुको लोक पर्व वा प्रचलन हो । यो किसानले साँझपख खेतबारीमा गएर कुनै विघ्न वाधा नपरोस ,उत्पादन बढोस् ,अन्नपातले भकारी भरियोस् भनेर भूमी वा कृषिका अधिष्ठाता देवता तथा शिवको पूजा गर्ने मौलिक पर्व वा परम्परा हो । साउन अथवा सावन वर्षा ऋतुको प्रतिक हो।यस महिनामा बर्षा उच्च हुने जसका माध्यमबाट धर्तीभरी सबैतिर हरियाली छाउने गर्दछ।तसर्थ हरेलोसम्ममा मुख्य बाली धान रोप्ने समय सकिएको मानिने तथा यसबाट हिउँदे बालीको मौसम शुभारम्भको पुर्व सङ्केत मिल्ने जनविश्वास छ।
हरेलो पर्व नेपाल लगायत भारतको उत्तराखण्डमा पनि मनाउने गरिन्छ । तात्कालिक डोटी राज्य हालको सुदूरपश्चिममा यसलाई हरेल्या (हरेली)संक्रातका रुपमा मनाउने र आफ्ना अन्नबाली जस्तै धान,कोदो,हलेदो,पिँडालु लगाएका खेतका बीचभाग वा आलिमा पहाडतिर नाशपाति वा मेलका फलयुक्त हाँगाहरु गाड्ने तथा माल भाँवरतिर नाशपाति वा अम्बा तथा अन्य फलका फलेका हाँगाहरु खेतमा गाड्ने अर्थात हरेलो हाल्ने प्रचलन रहेको पाइन्छ।भविष्यमा केही अनिष्ट नहोस् तथा नकारात्मक शक्तिको आगमन नहोस भन्नका लागि सन्ध्याकालमा घरका ढोका अथवा म्वाल,देलि र झ्यालहरुमा झिझिर्कांडा ,मेल र कुर्जाे राख्ने प्रचलन रहेको पाइन्छ।यसरी घरमा झिझिर्कांडा राखेको देखेपछि नकारात्मक शक्तिका रुपमा रहेको मानिने भुतप्रेतले खेतमा किसान काममा व्यस्त रहेको मौका छोपी घरमा प्रवेश गर्न खोज्दा ढोकामा झिझिर्काँडा देखेपछि
“बुढा बुढी गडाखेत नन्दिना खौं,
म्वाल झिझिरकाँडी कै बाटा झौ “
“साउँ दिदी साउँ बाट झिझिर्काँडो कइबाट झाउँ“

भन्ने र घरभित्र प्रवेश नगर्ने जनविश्वास पाइन्छ ।झिझिर्काँडाका पातहरु कहिल्यै नओइलाउने भएकाले त्यो काँडा राखिएको घरमा दुख कष्ट ,रोगव्याध नपर्ने तथा परिवार सुस्वस्थ्य र सकुसल रहने विश्वास गरिन्छ ।यसले घर बाहिर जाँदा सुरक्षाका उपायहरू अपनाउनु पर्ने र सधैं सजग रहनुपर्ने कुरा तर्फ सङ्केत गर्दछ ।
यतिमात्र होइन घनघोर बर्षा र कालो बादलले वातावरण नै कालो मैलो बनाउने,खोलानालाहरुमा पानीको सतह बढ्ने,बाटाघाटाहरु झाडिले भरिने,बाढी पहिरोको प्रकोपको खतरा बढ्ने भएको र सो कारणले आवतजावत गर्न तथा भेटघाट गर्नै कठिनाई हुने भएकाले श्रावण मासलाई कालो महिनाको रुपमा लिइने गरेको पाइन्छ । यस महिनामा परिस्थिति अनुसार एक हप्ता ,दुई हप्ता वा महिनाभरि नै नवविवाहितालाई पयलीले माइत पठाउनु पर्ने चलन पनि रहेको पाइन्छ ।
आजको दिनदेखि नवविवाहिताको माइतीमा दुलहाको घरबाट सामर्थ्य अनुसार फलफुल ,वस्त्र आदि कोसेली अर्थात् ओल्को दिनुपर्ने प्रचलनको शुभारम्भ गरिन्छ ।परिस्थिति अनुसार ओल्को साउन महिनाभरि मंगल र शनिबार बाहेकको कुनै एकदिन दिन सकिने प्रचलन रहेको छ।यस प्रचलनलाई सामाजिक सम्बन्ध र एकता प्रगाढ पार्ने प्रचलनका रुपमा लिन सकिन्छ ।
शास्त्र अनुसार यस दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले उत्तरायन सकिएर दशक्षिणायन शुुुुरुहुने तथा दिनहरु छोटो र रातहरु लामो हुँदैजाने विश्वास रहेको छ।अन्य धार्मिक पर्वहरु झैं तीर्थस्थल तथा घाटहरुमा गई स्नान गर्ने परम्परा रहेको यस पर्वमा असारमा अन्नबाली लगाएपछि अर्थात धान,मकै,कोदो आदि रोपेपछि शरीर फोहोर हुने र लुतो,घाऊ,खटिरा नआउन भनेर सरसफाइ गर्ने, रोगव्याधी नाशक खानेकुरा खाने तथा लुतो फाल्ने प्रचलन रहेको पाइन्छ ।तर तात्कालिन डोटी प्रदेशको धेरै जसो भुभागमा असोज १ गते लुतो फाल्ने गरेको पाइन्छ ।शिवभुमी सुदूरपश्चिममा यो महिनाभरि शिवको मन्दिरमा गइ पूजाआजा एवम् आराधना गर्ने गरेको पाइन्छ । धार्मिक मान्यता अनुसार समुन्द्र मन्थनबाट निस्किएको कालाकुट विष भगवान शिवले ग्रहण गरि मानवहितका लागि काम गरेकाले मानवजातिले सौभाग्य प्राप्त गरेको रुपमा लिइन्छ ।
बिशेषतः साउने सोमबारका दिन महिलाहरुले व्रत बस्ने हातमा मेहन्दी लगाउने तथा विवाहिताले सौभाग्यको प्रतीक हरियो वस्त्र ,हरियो चुरा,पोते धारण गरि शिव आराधना गर्ने गरेको पाइन्छ ।देश अनुसारको भेष भने झैं भारतको उत्तराखण्ड र पूर्वी नेपालका केही भुभागहरुमा चैत वा भदौमा हरेलो गर्ने र मनाउने गरेको पनि पाइन्छ ।यसरी धेरैजसो पर्वहरु वर्षको एकचोटी पर्ने भएपनि हरेलो पर्व बर्षको तीन चोटी पर्ने गरेको पाइन्छ ।
नेपालको विभिन्न ठाउँ र भारतको उत्तराखण्डमा हरेलो गर्दा पाँच वा सात प्रकारका अन्न जस्तै स् जौँ, गहुँ ,मकै,गहत,सर्स्युँ,मास,भटमास आदि रोपण गरेर परम्परागत विधि र रीतिपूर्वक मनाउने गरेको पाइन्छ।
कृषिकर्मसंग सम्बन्धित अन्नबाली रोपण ,उत्पादन तथा सुरक्षण लगायतका विषयवस्तु,सामाजिक एकता तथा वातावरण र स्वास्थ्य सरसफाइसंग सम्बन्धित विज्ञानसम्मत विषयहरु तर्फ संकेत गर्ने हरेलो पर्व र यसको धार्मिक ,सांस्कृतिक तथा समाजिक महत्त खोज अनुसन्धानको विषय बन्न सक्दछ ।
सबैमा शुभकामना
(विभिन्न स्रोत व्यक्तिहरुबाट प्राप्त सामग्रीका आधारमा तयार पारिएको यस सानो लेखमा छुटेका तथा बाझिएका विषयवस्तु र परम्परा भए विद्वान पाठकहरुमा समुचित सुझावका लागि सादर अनुरोध गरिन्छ )
रमेश पन्त मीतबन्धु

images


प्रतिक्रिया दिनुहोस