बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

सिमानाका सिपाही हर्षबहादुरका दुःख

images
images
http://rubasnews.com/posts/50

रुबस न्यूज
सोमबार, असोज ४ २०७८०५:२६
http://rubasnews.com/posts/50

images
images
सिमानाका सिपाही हर्षबहादुरका दुःख
images
images

मान्छेहरू चाहन्छन् सीमा नहोस्। केवल क्षितिज होस्। स्वच्छन्दता होस्। जहाँ कसैको काबु नहोस्। बेकाबु हुन पाइयोस्। तर, व्यवहारमा सीमा हुन्छन् र सिमाना पनि। अनि हुन्छन्, सिमाना पार गर्नुपर्ने बहाना पनि।

images

उसले पनि एउटा बहाना भेटेको छ। तर सीमा पार गर्ने होइन, पार गर्न नदिने बहाना। यो बहाना उसको चाहना होइन, रोजाना हो।

गैरकानुनी र अवैध ढंगले सीमा नाघ्ने र नाघ्न चाहने जोसुकैलाई रोक्न तैनाथ गरिएको छ उसलाई। कोरोना महामारी समयमा सिमानाको रक्षा गर्न खटाइएको छ। तर उसलाई गाह्रो छ आफ्नै रक्षा गर्न। किनकी कोरोना भाइरसबाट मात्र हैन, अन्य धेरै कुराबाट असुरक्षित छ ऊ।

ऊ अर्थात सशस्त्र प्रहरी हर्षबहादुर।

‘नाम हर्ष भएर हुँदो रहेनछ’ कहिलेकाँही ऊ नामको बेलिबिस्तार लगाउँछ। जीवनमा धेरै गरिब धनीरामहरू भेटेको छ उसले। ढुंगा जत्तिकै कठोर मन भएका दिलबहादुर पनि पाएको छ। सुन्दर आवरण भन्न नमिल्ने रूपबहादुर अनि स्वभावैले आक्रामक शान्ति प्रसादको संगत पनि गरेको छ।

त्यसैले नामविपरीत धेरै कारणले उसमा हर्ष नभए पनि बहादुर भने छ। र त, थुप्रै अभाव र असुरक्षाका बाबजुद दिनरात खटिन बिलकुल हच्किएको छैन।

त्यही भएर होला अस्ति ऊ खटिएको सीमाका ‘मेयर’ भन्दै थिए, ‘लोहाले बनेको मान्छे रहेछन् हर्षबहादुर। २४ सै घन्टा उही फूर्तिसाथ काम गरेको देख्छु।’

हर्ष बहादुरसँगै एसएलसी उत्तीर्ण गरेको साथी अहिले वैदेशिक रोजगारीमा छ। कोरोना अघिसम्म मासिक लाखभन्दा बढी रकम पठाउँथ्यो। विदेशी भूमिमा चिल्लो कारमा हिँड्थ्यो।

तर हर्ष बहादुर विदेशीको अतिक्रमण रोक्न, खबरदारी गर्न दशगजाको तिरैतिर साइकलमा हिँड्छ। मासिक पाउने केही हजार तलबमा गुजारा गर्छ। सदरमुकाममा कोठा भाडा लिएर जहान परिवारसम्म पालेको छ। ऊ आर्थिक रूपले पनि असुरक्षित छ।

ऊ भर्खरै ड्युटी सरेर कोरोना भाइरसका कारण भएको बन्दाबन्दीमा सीमाबाट मान्छेको अवैध आवागमन रोक्न स्थापना भएको अस्थायी बोर्डर आउट पोष्ट (बिओपी) मा तैनाथ हुन आएको हो। कुनै पुरानो मक्किएको दुई कोठे खण्डहर सरकारी भवनमा उसको पोष्ट बसेको छ। ऊ र उसको टिमलाई बस्न र हातहतियार राख्न त्यही घरको सहारा छ।

पन्ध्र जना सहकर्मीसँग मिलेर जीर्ण भवन टालटुल काम चलाउ बनाएको छ उसले। नजिकैका माने दाइको घरबाट बिजुलीको लाइन मागेको छ। चुहिने छानो एक रोल कालो प्लास्टिकले ढाकेको छ। पर्तिर केही बासका खाँबोमा त्रिपाल टाँगेर सेन्ट्री बस्छ।

अस्ति बेस्मारी हावाहुरी आउँदा पन्ध्रै जना कोही खाँबोमा, कोही धुरीमा झुन्डिएको र कोही पाखुराको त्यान्द्रै चुँडिने गरी टेन्ट तान्दै गरेको फोटो खुब भाइरल भएको थियो। सबैले त्रिपाल र टेन्टतिरै ध्यान दिँदा प्लास्टिक बेरेर बनाएको चर्पी उडेको थाहै पाएनन्। त्रिपालको अस्थायी पोष्ट भत्कियो। ऊ बस्न पनि असुरक्षित छ।

सापटी मागेको बिजुली। ल्यान्डलाइन टेलिफोन छैन। भएको मोबाइलमा कार्यालयको कामका लागि समेत तलबबाटै रिचार्ज गर्नुपरेको छ। खानेपानीको ट्युबवेल पालिकाले जुटाइदिएको छ। स्याउला बटुलेर, प्लास्टिक बेरेर शौचालय बनाउनु परेको छ। त्यसमाथि झेल्नुपरेको छः चर्को गर्मी। मुसलधारे वर्षा। असिना। बाढी। हावाहुरी। जंगली जनावर। सीमा वारपार गर्न चाहने मान्छेहरू। चोरी निकाशी गर्ने पेशेवरहरू।

कैयौं ठाउँमा त बेलगाम गाउँलेको जिन्दगीमा ऊ आएर लगाम लागेकाले स्थानीयहरू नै उसको खिलाफमा छन्।

रुखका हाँगाबिँगा र छेस्काको ‘बाउन्ड्री वाल’ छ। बसेर कार्यालयको काम गर्न दुइटा सेता प्लास्टिक कुर्सी व्यवस्था गरेको छ। पर्तिरको स्कुलबाट लकडाउनका बेला थन्किएर बसेका चारथान बेन्च ल्याएर दिउँसो अलग अलग ठाउँमा राखेर बस्ने र राति एकै ठाउँमा जोडेर सुत्ने गरी ‘मल्टिपल युज’ गरेको छ।

कैयौं दिनदेखि त्यही सर्जिकल मास्क लगाइरहेछ। टाटेपाटे भइसक्दा पनि हातका सामान्य ‘ग्लोभ्स’ दिनमा एकजोर भन्दा फेर्न सक्दैन।

कस्तो जागिर? महिना मरेको पनि थाहा पाइँदैन। क्यालेन्डरधरि छैन कार्यालयमा। दुःख, पीडा, अभाव, अपजस, अपहेलना सबैको मूल्यांकन गर्छ र टोलाएर सीमापारि हेरिरहन्छ।

थुप्रै निकायमा प्रोत्साहन भत्ता पाइन्छ अरे, अलिकति हामीलाई पनि दिए हुने। जनप्रतिनिधिले सवारी साधन पाएका छन्, हामीले पनि पाए हुने। कहिलेकाँही उसलाई कार्यालयमात्रै हैन, जागिर पनि उजाड उजाड लाग्छ।

कहिलेकाहीँ सुनसान रातमा उसको निद्रा खुल्छ। ऊ असारे गर्मीमा बाहिर झ्याउँकिरी र भ्यागुताको आवाजसँगै एकोहोरिन्छ। मक्किएको सिलिङमा झुन्डिएको पंखाभन्दा स्पिडमा मन घुम्दै जाँदा नन्दकृष्ण जोशीको देउडा गीत सम्झिन्छः

‘गंगा घुम्छ घुमाउटाले, मन घुम्दो छ किन!
बाज मेरी, मन घुम्दो छ किन!’

र, बेलाबेला आत्मबल बढाउन भन्छ- ‘यहाँ जिन्दगी त अस्थायी छ, किन चाहियो ड्युटी गर्न स्थायी पोष्ट?’

ठूलाठूला चाइनिज अक्षरले लेखेर भूकम्प बेला चीनले सहयोगस्वरुप दिएका केही थान टेन्ट, भारतमा उत्पादन भएका केही थान त्रिपाल, अमेरिकामा बनेका केही थान हतियार बोकेर खण्डहर भवनमा बसेर, कोरोनाको त्रासदीको बेला सिमानाको सिपाही बनेर उसले बचाउनु परेको छः आफ्ना हातहतियार, आफ्नो ज्यान, आफ्नै भूमि र अरू थुप्रै कुरा।

ऊ अर्थात सशस्त्र प्रहरी हर्षबहादुर।

(लेखक जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)

 


प्रतिक्रिया दिनुहोस