बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

भारत छिर्न पीसीआर रिपोर्ट

images
images
http://rubasnews.com/posts/67

रुबस न्यूज
बुधबार, असोज ६ २०७८०१:५५
http://rubasnews.com/posts/67

images
images
यो सामग्री अडियोमा सुन्नुहोस् ।
भारत छिर्न पीसीआर रिपोर्ट
images
images

महेन्द्रनगर । बैतडी मेलौलीका जयराज भट्ट बिहीबार बिहानै गड्डाचौकी नाकामा पुगे । केहीबेरको सोधपुछ तथा नाम दर्तापछि उनी भारततर्फ लागे ।

images

करिब एक किलोमिटर परको भारतीय हेल्थ डेस्कमा स्वास्थ्यकर्मीले उनीसँग सामान्य सोधपुछपछि कोरोना परीक्षणको रिपोर्ट मागे ।यसबारे उनलाई केही थाहा थिएन । रिपोर्ट थिएन । उनलाई नेपालतर्फ फिर्ता पठाइयो । ‘पीसीआर रिपोर्ट दिखाओ, लेके आओ भनेको छ,’ गड्डाचौकीमा भेटिएका भट्टले भने, ‘अब यो बीचबाटोमा रिपोर्ट कहाँबाट ल्याउनु ?’

भारत उत्तराखण्डको चम्पावत जिल्लाको लोहाघाट क्षेत्रमा डकर्मी काम गर्ने उनी एक साताअघि मात्रै घर आएका थिए । घर आउँदा भारततिर जानेहरूबाट परीक्षण रिपोर्ट माग्न सुरु भएको थिएन । कञ्चनपुरको भीमदत्त–१७ बाँसखेडाका ७६ वर्षीय पदम चन्द पनि बिहीबार ६ महिनापछि पेन्सन बुझ्न सीमावर्ती बजार बनबासा जान लागेका थिए । उनलाई पनि परीक्षण रिपोर्ट ल्याउनु भन्दै फर्काइदिए । ‘पेन्सन बुझेर आधा घण्टामै फर्किने भन्दा पनि जान दिएनन्,’ चन्दले भने, ‘रोपाइँ गर्नेहरू, जोताइको काम गर्ने सबैलाई ज्याला दिन बाँकी छ । पेन्सन ल्याएर दिन्छु भनेको छु, अब कहाँबाट उनीहरूलाई दिने ?

चन्द महिनापिच्छे पेन्सन बुझ्न बनबासा पुग्थे । कोरोना संक्रमणका कारण गत वर्षदेखि भारततर्फ आउजाउमा कडाइ हुँदा उनी ४/५ महिनामा मात्रै जान्छन् । ‘यस पटक त फागुनदेखि नै जान पाइएको छैन,’ उनले भने, ‘घर खर्च चलाउनसमेत मुस्किल भएको छ ।’ गत वर्ष कोरोना संक्रमणका कारण लामो समय नाका बन्द भयो । नाका बन्द भएकै अवस्थामा समेत उपचार, रोजगारी, अध्ययन र पेन्सन बुझ्न जानेहरूलाई भने आउजाउ गर्न दिइएको थियो । यसरी भारततर्फ जानेको सामान्य स्वास्थ्य जाँच र एन्टिजेन परीक्षण पनि गरिन्थ्यो । सरकारले गड्डाचौकीलगायतका नेपाल र भारतका प्रमुख सीमानाकामा आवागमन खुला गरेपछि सामान्य स्वास्थ्य जाँच पनि बन्द गरिएको थियो ।

कोरोना संक्रमणको दोस्रो लहर बढिरहेका बेला दुवैतर्फ निषेधाज्ञा सुरु भएपछि भारततर्फ जानेको संख्या नगण्य थियो । केही दिनयता संक्रमणको दर घटेपछि भारत जानेको संख्या बढेको छ । सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार मंगलबारदेखि नेपालीहरूबाट ७२ घण्टाभित्रको परीक्षण रिपोर्ट माग्न थालिएको हो ।

नाकामा मंगलबारदेखि एकाएक परीक्षण रिपोर्ट माग्न थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा जानेहरू बढी समस्यामा छन् । जेनतेन नाकामा पुगेकाहरू पुनः परीक्षण गराउन फर्किनुपर्दा अलपत्र परेका छन् । परीक्षण गराउन कहाँ जाने र फेरि कसरी फर्किने भन्नेमै अन्योल छ । सशस्त्र प्रहरीका एसपी वीरेन्द्र ऐरले भने, ‘एकाएक भारततर्फ जानेको संख्या बढेका कारण रोक्नका लागि यस्तो गरेको पनि हुन सक्छ ।’ भारतीय नागरिकलाई नेपाल प्रवेश गर्दा गत वर्षदेखि नै कोरोना परीक्षण रिपोर्ट र सीसीएमसी फाराम भर्नुपर्ने अनिवार्य गरिएको छ । यही किसिमको रिपोर्ट माग गर्दै भारतले पनि परीक्षण रिपोर्ट अनिवार्य गरेको हुन सक्ने सुरक्षाकर्मीहरू बताउँछन् । नाकाबाट फर्काइएकाहरू केहीले महेन्द्रनगरमा पीसीआर गराउँदै आएका छन् । केही कैलालीको गौरीफन्टा नाका हुँदै गइरहेका छन् । पहाडी जिल्लाबाट जेनतेन पुगेकाहरू भने नाकामै अलपत्र परेका छन् ।

कैलालीको गौरीफन्टा नाकामा भने पारि रिपोर्ट माग नगरिएको सशस्त्रका एसपी ऐरले बताए । गौरीफन्टा नाका उत्तरप्रदेश र गड्डाचौकीपारिको बनबासा उत्तराखण्डमा पर्छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीका अनुसार सुरक्षा निकायको समन्वयमा केही सहज पार्ने प्रयास भइरहेको छ । बिहीबार गड्डाचौकीबाट १ सय १७ पुरुष, २९ महिला र ५ बालबालिका गरी १ सय ५१ जना नामदर्ता गराएर भारततिर गए पनि उनीहरूमध्ये परीक्षण रिपोर्ट नभएर कति जना फर्किए भन्ने प्रशासनसँग तथ्यांक छैन ।

यसैगरी गौरीफन्टा नाकाबाट बिहीबार १ हजार ४ सय १ पुरुष, ३ सय ९० महिला र २ सय ७ बालबालिका गरी १ हजार ९ सय ९८ जना भारततर्फ गएका छन् । उक्त नाकाबाट १ सय ७० पुरुष ८५ महिला र ४५ बालबालिका गरी ३ सय जना भित्रिएका छन् । उनीमध्ये १ सय २ जनाको एन्टिजेन परीक्षणमा कसैमा पनि संक्रमण देखिएन । कान्तिपुरबाट


प्रतिक्रिया दिनुहोस